दफा १३
सामाजिक सञ्जाल व्यवस्थापन इकाइ
(१) सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक वा सोको सम्पर्क विन्दुबाट दफा ४ मा उल्लेख भएका विषयमा गुनासो सुनुवाइ नभएको वा सम्बन्धित निक्कायबाट प्रचलित कानून बमोजिम सामाजिक सञ्जालका विषयमा सम्बोधन नभएको भनी प्राप्त भएका गुनासो सुनुवाइ समेतको कार्य गर्न मन्त्रालयमा एक सामाजिक - सञ्जाल व्यवस्थापन इकाइ रहनेछ।
(२) सामाजिक सञ्जाल व्यवस्थापन इकाइले देहायको कार्य गर्नेछ:-
(क) सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित गुनासो दर्ता गर्दा गुनासोकर्ताले आफू ठगिएको वा हैरानी दिइएको वा गाली गरेको सम्बन्धी कन्टेन्टको स्क्रिनसट पेस गरे, नगरेको यकिन गरी दर्ता गर्ने,
(ख) सामाजिक सञ्जाल व्यवस्थापन इकाइमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने,
(ग) सम्बद्ध निकाय वा अन्य निकाय समेतको सहभागिता रहने गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग तथा नियमन सम्बन्धमा समन्वय बैठक आयोजना गर्ने,
(घ) सामाजिक सञ्जालको सही प्रयोगका लागि कानूनी व्यवस्था तथा असल अभ्यासको प्रचारप्रसारका साथै अध्ययन, अनुसन्धान र संवादलाई संस्थागत रुपमा अघि बढाउने,
(ङ) सामाजिक सञ्जाल व्यवस्थापन इकाइबाट सम्पादित कार्यको अभिलेख राख्ने,
(च) यस निर्देशिका विपरीत प्रकाशित वा प्रसारित सामग्री हटाउन सम्बन्धित सामाजिक सञ्जाल प्लेटफर्मको सम्पर्क विन्दुलाई तत्काल लेखी पठाउने, (छ) सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको व्यक्तिले यस निर्देशिका विपरीतको कार्य गरेको पाईएमा सम्बन्धित निकायमा लेखी पठाउने।
(३) सामाजिक सञ्जाल व्यवस्थापन इकाइले यस दफा बमोजिम गुनासो सुनुवाइ गर्दा कुनै कार्य प्रचलित कानून बमोजिम कसूर हुने देखिएमा सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।